खालसा साजना दिवस मनाउँदै शिख समुदाय



बाँके । बाँकेका शिख समुदायले नयाँ वर्षसँगै खालसा साजना दिवस तथा वैशाखी पर्व हर्षोल्लासका साथ मनाएका छन्।

शिख समुदायको धर्म उत्पत्ति भएको दिनका रुपमा यो दिवस मनाउन थालिएको श्री गुरुनानक सिंह सभा गुरुद्वारा नेपालगञ्जका अध्यक्ष राजेन्द्र सिंह सरदारले बताए। दिवसका अवसरमा गुरुद्वारामा अखण्ड पाठको आयोजना र भण्डाराको व्यवस्थापन गरिएको छ।


देशमै बाँकेमा सबैभन्दा धेरै शिख समुदायको बसोबास छ। नेपालभर करिब २५ हजार शिख समुदायको जनसङ्ख्या छ। त्यसमध्ये बाँकेको डुडुवा गाउँपालिका–६ सिख्खनपुर्वा, नेपालगञ्ज–१५ जमुनाह, नेपालगञ्ज–१९ वसुदेवपुर र जानकी–२ बेलभारको बनकटवामा गरी करिव सात हजारको सङ्ख्यामा छन्।

आजदेखि सुरु भएको खालसा साजना दिवस तथा वैशाखी पर्व तीन दिनसम्म मनाइने श्री गुरुनानक सिंह सभा गुरुद्वाराका कोषाध्यक्ष जोगेन्द्र सिंहले बताए। उनका अनुसार गुरुद्वारामा विगत ४० वर्षदेखि प्रत्येक आज गरिब तथा दीनदुःखीका लागि भण्डारा चल्दै आएको छ।

श्री गुरुनानक सिंह सभा गुरुद्वारा नेपालगञ्जका कार्यसेवक मायासिंह शिखले खाल्साले सबै शिखलाई पाँच निसानी दिएको बताए। शिख समुदायले हातमा लगाएको कडा, टाउकोमा पगरीभित्र कङ्गी, कम्मरमा सानो चक्कु, एउटा भित्री वस्त्र र दाह्री कहिल्यै नकाट्ने खाल्साको पाँच निसानी रहेको उनको भनाइ छ।

नयाँ वर्ष २०८१ तथा सिख समुदायको खालसा साजना दिवसका अवसरमा नेपालगञ्जस्थित विशेष कार्यक्रममा लुम्बिनी प्रदेशका विनाविभागियमन्त्री भण्डारीलाल यादव, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, सुरक्षा निकायका प्रमुख र सिख समुदायका अगुवाहरुको सहभागिता रहेको थियो।