संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयप्रति कांग्रेसको आपत्ति



काठमाडौं । नेपाली कांग्रेसले सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिश गरेकोमा आपत्ति जनाएको छ । कांग्रेसको आज (आइतबार) विहान संसद् भवनस्थित् ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले सरकारले न्यूनतम संसदीय मूल्य र मान्यतालाई कुल्चिएको र अलोकतान्त्रिक बाटोमा हिँडेको निश्कर्ष निकालेको हो ।

बैठकपछि मिडियाकर्मीहरुसँगको कुराकानीमा प्रमुख सचेतक रमेश लेखकले भने बजेट अधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै पनि अप्रत्याशितरूपमा चालू अधिवेशन अन्त्य गरेकोमा बैठकले गम्भीर आपत्ति जनाएको सुनाए । उनले भने,‘आजको बैठकबाट हामीले चार वटा निर्णय गरेका छौं । यो सरकार आफ्नो दायित्वबाट भाग्ने काम गरेको छ । सरकार संसद्प्रति उत्तरदायी देखिएन । सरकारको पक्षबाट प्रतिपक्षीको कारण संसद अवरुद्ध भएको भनेर आउने तर्क हाँस्यास्पदमात्र नभई लज्जास्पद पनि छ ।’


आफ्नो दलले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको विषय विगत एक महिनादेखि तथ्य र प्रमाणसहित उठाउँदै आएको पनि लेखकले स्मरण गराए । तर, आफ्नो दलले संसद्का कुनैपनि कामकारबाही अवरोध नगरेको उनको जिकिर छ ।