कर्णाली प्रदेश सभा बैठक स्थगित, मुख्यमन्त्रीले विश्वासको मत नलिने



काठमाडौं । कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ ।

मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिनका लागि डाकिएको बैठक स्थगित भएको हो । केन्द्रबाट कर्णालीको मुख्यमन्त्री एमालेलाई छाड्न निर्देशन आएको थियो । तर, केन्द्रको निर्देशन विपरित प्रदेश सभाबाट विश्वासको मत लिन लागेका शर्माले अन्तत विश्वासको मत नलिने भएका छन् ।


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पद छाड्न भने पनि मुख्यमन्त्री शर्माले विश्वासको मत लिने अडान राखेका थिए।

विश्वासको मत लिएर मात्रै पदबाट बाहिरिने अडान राखेका उनी र माओवादी नेतृत्वबीच कुरा नमिल्दा प्रदेश सभा बैठक नै बुधबारसम्मलाई स्थगित गरिएको हो। 

कर्णाली एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीमा दाबी गर्दै आएका छन् । तर, आफ्नो राम्रो आधार भएको क्षेत्र भन्दै माओवादीले कर्णाली सरकार छाड्न नसक्ने बताउँदै आएको छ ।