इलाम-२ मा एमालेका सुहाङ नेम्वाङले गरे मनोनयन दर्ता



इलाम । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । १५ वैशाखमा हुने उपनिर्वाचनका लागि सुहाङले उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेले उपनिर्वाचनका लागि चुनावी कमाण्डर बनाएकी पूर्वउपसभामुख तथा एमाले नेता शिवमाया तुम्वाहाङ्फे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री राम राना, राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवे, जिल्ला अध्यक्ष महेश बस्नेतसहित तहका नेता मनोनयन दर्ता गराउने कार्यक्रममा सहभागी भएका थिए ।


अहिलेसम्म इलाम २ मा जनमत पार्टीका प्रेमकुमार थामसाङ, नेमकिपाका श्याम नेपाली, स्वतन्त्र उम्मेदवार जकप्रसाद गौतम, मंगोल नेशनलका मणिबहादुर लिम्बु, एकीकृत समाजवादीका जीतबहादुर राई र स्वतन्त्रबाट डेकेन्द्र सिंह थेगिमले उम्मेदवारी दर्ता गराएका छन् ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा एकै दिन उपनिर्वाचन हुन लागेको हो।

निर्वाचन आयोगका अनुसार मनोनयनपत्र दर्ता आज साँझ ५ बजेसम्म उम्मेदवार दर्ता गर्न समय तोकिएको छ। आयोगले आज बेलुका ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता भएको सूची प्रकाशन गर्ने जनाएको छ।