इलाम उपनिर्वाचन: माङ्सेबुङ–५ मा स्वतन्त्रले एक हजार ३२ मत पाउँदा ठूला दलको ६९ कटेन



इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

पछिल्लो नतिजाअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढ्दाे क्रममा छ । २७ हजार ६ सय १५ मतगणना गर्दा सुहाङ तीन हजार सात सय ५४ मतान्तरले अगाडि छन् । नेम्वाङले ११ हजार ७८ मत प्राप्त गर्दा कांग्रेसका डम्बरबहादुर खड्काले सात हजार तीन सय २४ मत मात्र प्राप्त गरेका छन् । 


त्यस्तै, तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले ६ हजार नौ सय एक मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू एक हजार पाँच सय १२ मतसहित चौथो सीमित छन् । 

 माङ्सेबुङ गाउँपालिका– ५ को भने अप्रत्याशित मतपरिणाम आएको छ । पहिचानवादी स्वतन्त्र उम्मेदवारले एक हजार ३२ मत ल्याउँदा ठूला दल एमाले र कांग्रेसले ६९ मत कटाएनन् । सो वडामा एमालेका नेम्वाङले ६९ र कांग्रेसका खड्काले ४९ मत मात्र प्राप्त गरे ।  रास्वपाका लिम्बूले तीन मत पाए । सो वडामा किराँत धर्मगुरू आत्मानन्द लिङ्देन बसोवास गर्दै आएका छन् । अहिले माई नगरपालिका– ६ र ७ मा मतगणना भइरहेको छ । 

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । इलाम २ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।