इजरायली आक्रमणबाट इरानका दुई वरिष्ठ कमान्डरको मृत्यु



बीबीसी । सिरियाको दमास्कसस्थित इरानी वाणिज्य दूतावास भवनमाथि इजरायलले गरेको हमलाको कठोर जवाफ दिने तेहरानले चेतावनी दिएको छ ।

हमलामा ११ जना मारिएका जनाइएको छ। तीमध्ये इरानको रिभोल्युश्नरी गार्ड्सका दुईजना वरिष्ठ कमान्डर पनि रहेका छन् ।


रिभोल्युश्नरी गार्ड्सले विज्ञप्तिमार्फत् ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी पनि मारिएका जनाएको छ । इरानी विदेशमन्त्री होसैन अमिरअब्दोल्लाहिअनले हमलालाई अन्तर्राष्ट्रिय महासन्धिहरूको उल्लङ्घन भनेका छन्। इरानको राजधानी तेहरानमा प्रदर्शनकारीहरूले इजरायलविरोधी नारा लगाउँदै इजरायली झन्डा जलाएका छन् ।

जाहेदीको मृत्युका लागि इजरायल जिम्मेवार रहेको इरानले जनाएको छ जसलाई दुई देशबीच तनाव चुलिने एउटा सङ्केतको रूपमा हेरिँदै छ । इजरायली सेनाले विदेशी सञ्चारमाध्यमका रिपोर्टबारे प्रतिक्रिया नदिने बताएको छ ।