आइडब्लुएफ विश्व कप : भारोत्तोलन खेलाडी सागरद्वारा कीर्तिमानमा सुधार



महेन्द्रनगर (कञ्चनपुर)। थाइल्याण्डको फुकेटमा जारी अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ (आइडब्लुएफ) विश्व कप भारोत्तोलन प्रतियोगितामा नेपालका खेलाडी सागर भण्डारीले आफ्नो राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन्।

उक्त प्रतियोगिताअन्तर्गत आज भएको प्रतिस्पर्धाका क्रममा कञ्चनपुरको महेन्द्रनगरका भण्डारीले प्लस् १०९ किलोग्राम तौल समूहमा स्नाचमा १३४, क्लिन एण्ड जर्कमा १७२ किलोग्राम र कूलतर्फ ३०६ किलोग्राम भार उचाल्दै आफ्नो राष्ट्रिय कीर्तिमानमा सुधार गरेको थाइल्याण्डमा रहेका भारोत्तोलनका प्रशिक्षक जीवन गौतमले जानकारी दिए।


यसअघि चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा भण्डारीले स्नाचमा १३३ किलो भार उचाल्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए। यसअघि उज्वेकिस्तानमा भएको एसियाली च्याम्पियनसिप, २०२४ मा भण्डारीले क्लिन एण्ड जर्कमा १७१ किलो भार उचालेका थिए। सोही प्रतियोगितामा उनले कूलतर्फ ३०३ किलो भार उचालेका थिए। यसअघि पनि क्लिन एण्ड जर्क र कूलतर्फ पनि भण्डारीकै नाममा राष्ट्रिय कीर्तिमान रहेको थियो । ती दुवैमा पनि भण्डारीले राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन्।

‘विसं २०३६ मा भारोत्तोलन सङ्घ बनेयता भण्डारी ३०६ किलोग्राम भार उचाल्ने पहिलो खेलाडी बनेका छन्’, प्रशिक्षक गौतमले भने–‘भारोत्तोलन संघले ओलम्पिक खेल्न सक्ने सम्भावित खेलाडीको रुपमा भण्डारीलाई अघि बढाएको छ।’ भारोत्तोलनमा वाइल्ड कार्ड पाएर ओलम्पिक खेल्न सक्ने सम्भावित खेलाडीको सूचीमा उनलाई राखेर नेपाल ओलम्पिक कमिटीले प्रशिक्षण तथा अन्य आवश्यक व्यवस्थान गरिरहेको प्रशिक्षक गौतमले जानकारी दिए।

ओलम्पिक कमिटीले एक वर्षदेखि भण्डारीको प्रशिक्षकका रुपमा गौतमलाई खटाएको छ। महेन्द्रनगरबाट भारोत्तोलन खेल्न सुरुआत गरेका उनी हाल नेपाल पुलिस क्लबमा आवद्ध छन्। छोटो समयमा भण्डारी धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेका छन्। सुदूरपश्चिमबाट कैलालीको धनगढीका भरत साउद सन् १९८८ मा दक्षिण कोरियामा आयोजना गरिएको ओलम्पिक प्रतियोगितामा पहिलो पटक भारोत्तोलन खेलमा सहभागी भएका थिए।