अज्ञात समूहले काटिदिए वार्षिक तीन करोडमा विक्री हुने बुद्धचित्तको रूख



काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–५, सीसाखानीस्थित ठाकुरानी तामाङको बारीमा रहेको बुद्ध चित्तको बोट अज्ञात समूहले काटिदिएको छ । हिजो राति हात हतियारसहित आएको २०/२२ जनाको समूहरुले बुद्धचित्तको रूख काटिदिएका हुन् ।

उक्त बुद्धचित्तको रूख वार्षिक ३ करोड रुपैयाँमा सत्यमान लामा र सन्दीप त्रिपाठीलाई पाँच वर्षका लागि बेचिएको थियो । उक्त रूखमा बजारमा धेरै राम्रो मानिने बुद्धचित्त फल्ने गरेको बताइएको छ । बुद्धचित्तको रूख किन्ने बेलामा पनि दुई समूहबीच हानाथाप भएको बताइएको छ ।


घटनालगत्तै उक्त ठाउँमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ । अहिले उक्त प्रकरणमा प्रहरीले मानबहादुर तामाङ (सिजन) लाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताइएको छ ।

सत्यमान लामा र सन्दीप त्रिपाठीले बुद्धत्तिच खरिदका लागि ठाकुरानीका छोरा शेरबहादुरलाई पहिलो वर्षको रकम ३ करोड रुपैयाँ बुझाइसकेका थिए । घटनास्थलमा जनमुक्ति सेना लेखिएको टिसर्ट र केही विस्पोटक पदार्थसमेत फेला परेको बताइएको छ ।