काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस कास्कीका पूर्वसभापति, महासमिति सदस्य एवं निष्ठावान् नेता खेमराज पौडेलको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता पौडेलको पोखराको फेवासिटी अस्पतालमा उपचारका क्रममा ८१ वर्षको उमेरमा आज निधन भएको हो ।
सभापति देउवाले शोक विज्ञप्तिमार्फत पौडेलको निधनको खबरले दुखी र मर्माहत बनाएको उल्लेख गर्दै स्व पौडेलले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गरेकाे सक्रिय भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने बताएका छन् ।
सभापति देउवाले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । लामो समय कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका नेता पौडेल २०७६ साल मङ्सिर १४ गते सम्पन्न भएको कास्की जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार थिए ।
विद्यार्थी जीवनकालदेखि नै राजनीतिक यात्रा प्रारम्भ गरेका स्व पौडेलले लोकतन्त्रको पक्षमा आवाज बुलन्द गर्दा भारत प्रवाससमेत व्यहोर्नु परेको थियो । नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनाको आन्दोलनमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए ।
उनको निधनबाट कांग्रेसले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको पार्टीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।