रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आपत्कालीनमन्त्री अलेक्ज्याण्डर कुरेन्कोभसँगको छलफलका क्रममा ओरेनबर्ग क्षेत्रको बाढीले निम्त्याएको सङ्कटको अवस्थालाई पुनः सम्बोधन गर्नुभएको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै रूसी समाचार समिति तासले जनाएको छ ।
“ओरेनबर्ग क्षेत्रका गभर्नर डेनिस पासलर र आपत्कालीनमन्त्री अलेक्ज्याण्डर कुरेन्कोभले ओरेनबर्ग क्षेत्रको ओर्स्क वरपर बाढीको अवस्थाबारे आज राष्ट्रपतिलाई जानकारी दिनुभयो”, प्रवक्ता पस्कोभले भने, “राष्ट्रपतिले कुरेन्कोभसँगको कुराकानीका क्रममा कुर्गान र ट्युमेन क्षेत्रमा सम्भावित बाढीका कारण उत्पन्न हुने अवस्थाको बारेमा समयमै विश्लेषण, पूर्वानुमान र उपयुक्त उपायहरू अवलम्बन गर्नुपर्ने आवश्यकतालाई जोड दिनुभयो, साथै उहाँले आज यी क्षेत्रका नेताहरूसँग टेलिफोन वार्ता गर्ने योजना पनि बताउनुभएको छ ।”
क्षेत्रीय सरकारको प्रेस सेवाले ओर्स्कमा खराब परिदृश्यले बढ्दै गएको बाढीको अवस्थाले छ हजार छ सयभन्दा बढी आवासीय घरलाई जोखिममा पारेको जनाएको छ । रूसस्थित ओरेनबर्ग क्षेत्रको दोस्रो ठूलो सहर ओर्स्कमा रहेको बाँध अप्रिल ६ मा रातारात दुई ठाउँमा फुटेको थियो । बाढीग्रस्त क्षेत्रमा दुई व्यक्ति मृत फेला परेको भए पनि उनीहरूको मृत्यु बाढीसँग सम्बन्धित नभएको अधिकारीहरूले बताएका छन् ।
कजाकिस्तान नजिकैको ओरेनबर्गको दक्षिणी क्षेत्रमा तटबन्ध गरिएको बाँध भत्किँदा बाढीमा परेर तीन जनाको मृत्यु भएको हो । क्षेत्रीय अधिकारीहरूका अनुसार शनिबार बिहानसम्म युराल नदीको स्तर बाँधको क्षमताभन्दा झण्डै दोब्बर भएको थियो । हाइड्रोलिक संरचनाको उचित मर्मत नगर्दा बाँध भत्किएको र सो सन्दर्भमा आपराधिक अनुसन्धान सुरु गरिएको क्षेत्रीय अभियोजक कार्यालयले जनाएको छ ।
बाँधले युराल नदीको पानीको बहावबाट शहरलाई जोगाउँदै आएको थियो । शनिबार बिहानसम्म बाँध फुटेर पानी सहरका धेरै जिल्लामा पुगेपछि झण्डै दुई हजार चार सय आवासीय भवन डुबानमा परेको तासले जनाएको छ । “ओरेनबर्गमा आपत्कालीन अवस्था जारी गरिएको छ, जोखिम क्षेत्र स्वैच्छिक रूपमा छाड्न अस्वीकार गर्नेहरूलाई प्रहरी अधिकारीहरूको सहयोगमा जबरजस्ती निकालिनेछ”, ओरेनबर्ग क्षेत्रका प्रमुख सर्गेई सालमिनले शनिबार टेलिग्राम पोस्टमा भने ।
दुई लाख ३० हजार जनसङ्ख्या रहेको ओर्स्क कजाकिस्तानसँगको रुसी सिमाना नजिक पर्दछ ।