गृहमन्त्रालयमा अहिले पिएसओको आतंक बढेको छ : रामहरि खतिवडा 



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रालयमा अहिले पिएसओको आतंक बढेको आरोप लगाएका छन् । आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै सांसद खतिवडाले यस्तो बताएका हुन् ।

उनले भने,‘पूर्व प्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीका पिएसओहरु जतिसुकै नम्बरमा भएपनि प्रमोशन भैहाल्नुपर्ने, दक्षता, क्षमता र योग्यताको कदर नहुने परिपाटीको विकास भयो । सभामुख महोदय, मन्त्रीहरु प्रशिक्षक छन् । प्रशिक्षण लिइराखेका छन् । अनि प्रशिक्षार्थी मन्त्री र कर्मचारीपनि प्रशिक्षार्थी नै राख्ने हो भने देश कहाँ जान्छ भन्ने कुरामा सरकारको ध्यानाकार्षण जाओस भन्न चाहन्छु ।’


उनले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चीनको ७ दिने भ्रमणबाट देशले के पायो भन्नेबारे सरकारसँग जानकारी मागेका छन् । खतिवडाले संसद्को मानमर्दन हुनेगरि अनुसन्धानको विषयमा चिठी लेखिएको भन्दै यो संविधानविपरित गतिविधि भएको भन्दै सभामुखको ध्यानाकार्षण गराए ।