इरानको प्रहरीले मुसलमानहरूको पवित्र महिना रमजानको अन्त्यमा आक्रमण गर्ने योजना बनाएका इस्लामिक स्टेट (आइएस) समूहका तीन संदिग्ध सदस्यलाई पक्राउ गरेको सरकारी मिडियाले बताएको छ ।
आधिकारिक आइआरएनए समाचार एजेन्सीका अनुसार उत्तरपश्चिमी प्रान्त अल्बोरेजको कारज सहरमा पक्राउ परेकाहरूमा मोहम्मद जकर पनि रहेका छन् । उनको पहिचान आइएस समूहको ‘वरिष्ठ सदस्य’ का रूपमा गरिएको थियो ।
‘रमजान समारोहको अन्त्यमा आत्मघाती आक्रमण गर्ने योजना बनाइरहेका इस्लामिक स्टेट समूहका तीन सदस्यलाई अल्बोरेज प्रान्तको प्रहरीले पक्राउ गरेको छ’, आइआरएनएले भनेको छ । पक्राउ कहिले गरिएको र पक्राउ पर्नेमा विदेशी नागरिक थिए वा थिएनन् भन्नेबारेमा तत्काल स्पष्ट भएको छैन ।
आइआरएनएले विस्तृत विवरण नखुलाई अन्य आठ ‘सहयोगी’ लाई पक्राउ गरिएको पनि जानकारी दिएको छ । स्थानीय सञ्चारमाध्यमहरूले मंगलबार पवित्र सहर कोममा दुई कथित आइएस सदस्य पक्राउ परेको बताएका छन् ।
आइएसले जनवरीमा ९० भन्दा धेरै व्यक्तिको ज्यान जाने गरी दक्षिणी इरानी सहर करमानमा भएको दोहोरो बम विस्फोटको जिम्मेबारी लिएको थियो । उक्त आक्रमण इराकमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका शीर्ष रिभोल्युसनरी गार्ड्सका जनरल कासिम सुलेमानीको मृत्युको वार्षिकोत्सवमा आयोजित समारोहमा भएको थियो ।
इरानले वर्षौंदेखि जिहादी र अन्य आतङ्कवादी समूहहरूसँग लड्दै आएको छ । आइआरएनएले शनिबार पाकिस्तानसँगको सीमा नजिक जिहादीहरूले गरेको हालैको आक्रमणमा मारिएका ‘शहीद’ हरूको सङ्ख्या बढेर १६ पुगेको बताएको छ । मारिनेमा सबै सुरक्षा बलका सदस्य रहेका छन् ।
यसअघि सरकारी मिडियाले झडपमा १० सुरक्षाकर्मी र जैश अल–अदल जिहादी समूहका १८ सदस्य मारिएको बताएको थियो । सुन्नी मुस्लिम विद्रोही समूह जैश अल–अदलको स्थापना सन् २०१२ मा भएको थियो ।