आरती साह मृत्यु प्रकरण: छानबिनका लागि डीआइजी जोशी नेतृत्वको अनुसन्धान टोली जनकपुरमा



काठमाडौं । जनकपुरकी आरती साहको मृत्यु प्रकरणको छानबिन गर्न नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डीआइजी) उमेशराज जोशीको नेतृत्वमा समिति बनाएको छ।

उनको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको हो।प्रहरीकाअनुसार डिआइजी जोशी नेतृत्वको टोली अनुसन्धानका लागि केही दिनअघि नै जनकपुरधाम पुगिसकेको छ। जसमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अधिकृत पनि छन्।


गत फागुन २९ गते गृह मन्त्रालय र आरती साहका परिवारबीच पाँच बुँदे सहमति भएको थियो। सहमतिमा सिआइबीको टोली अनुसन्धानका लागि खटाउने र त्यसको लागि परिवारसँग समन्वय गर्ने उल्लेख थियो। त्यस्तै ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने भनिएको थियो। त्‍यही सहमतिले कुन-कुन विषयमा केन्द्रित रहेर अनुसन्धान गर्ने भन्ने पनि समावेश गरिएको थियो।

पहिलोमा कर्तव्य ज्यानसम्बन्धी मुद्दाको अनुसन्धानमा भएका कमीकमजोरी सम्बन्धमा अनुसन्धान गर्ने उल्लेख छ। दोस्रोमा आरतीको परिवारमाथि प्रहरीबाट भएको कुटपिट एवं दुर्व्यवहारका सम्बन्धमा पनि अनुसन्धान गर्नुपर्ने कार्यदेश दिइएको थियो।

तेस्रोमा घटना सम्बन्धमा नेपाल मेडिकल काउन्सिल र राष्ट्रिय मानव अधिकार आयोगबाट सार्वजनिक भएको प्रतिवेदन विषयलाई समेत अध्ययन गर्ने भनिएको छ। घटनाका सम्बन्धमा तयार भएका चिकित्सकीय प्रतिवेदनहरू अध्ययन गर्ने भनिएको छ।

उक्त अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा कानुनबमोजिम पुनः अभियोजन गर्ने सहमति भएको थियो। २२ वर्षीया आरती गत जेठ ७ गते श्रीमानको घरमा मृत भेटिएकी थिइन्। उनको माइती पक्षले हत्या भएको दाबी गर्दै निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै आएको थियो।