आफ्नो दारी छाम्न हतार नगर्नुस् गृहमन्त्रीज्यू, संसदीय समितिमा बहस गर्न आउनुस्ः महामन्त्री शर्मा



काठमाडौं । नेपाली कांग्रेसले जबर्जस्ती सदनमा कुनै प्रस्ताव पेश गर्न खोजै परिणाम गम्भीर हुने चेतावनी दिएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षको सहमति बेगर र कार्यव्यवस्था परामर्श समितिमा सहमति बेगर कुनै प्रस्ताव आकस्मिक रूपमा रोष्ट्रमबाट पेश गर्न खोजिए आफूहरु कठोररुपमा प्रस्तुत हुने चेतावनी दिएका हुन् ।

उनले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन नगरे आगामी दिनमा सदन चल्न नदिने चेतावनी दिए । उनले गृहमन्त्री लामिछानेलाई बहसका लागि संसदीय समितिको कार्यालयमा आउन निम्तोसमेत दिएका छन् ।


उनले भने, ‘माननीय गृहमन्त्रीजीमा उत्साह छ । उर्जा छ, बोल्दै गर्दा हामीभन्दा ठूलै स्वरमा बोल्न सक्नुहुन्छ । आउनुस् बहस गर्नका लागि ठाउँ निर्धारित गर्न चाहन्छु । नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र स्थापना हुने संसदीय छानबिन समितिको कार्यालयमा उहाँलाई निमन्त्रण गर्न चाहन्छु,।’

उनले गृहमन्त्रीको सहजताका लागि नै संसदीय समितिको माग गरेको बताए । महामन्त्री शर्माले लामिछानेको विषयमा छानबिन नगरी कसैले उनलाई निर्दोष छन् भन्नुले थप शंका पैदा भएको बताए ।

उनले संसद कसैलाई दोषी करार गर्ने वा निर्दोष प्रमाणित गर्ने संस्था नभएको भन्दै छानबिन अनिवार्य भएको बताए । उनले अबको बैठकमा आउँदा संसदीय छानबिन समिति नबने संसद चल्न नसक्ने चेतावनी दिए ।

उनले भने, ‘यसो भन्दै गर्दा म अकबर र बीरबलको कथा स्मरण गर्दछु । चोरको दारीमा सिन्का भन्दा चोरले हतारहतार दारी छामेको थियो । गृहमन्त्रीजीमा जोस् छ । हामी भन्दा ठूलो स्वरमा बोल्नु हुन्छ । रोष्ट्रममा गएर ठूलो स्वरमा म निर्दोष छु भनेर बोल्न मन होला । गृहमन्त्रीजीले संयोगले दारी पाल्नुभएको छ, आफ्नो दारी छाम्न हतार नगर्नुहोस् ।’

कांग्रेसले प्रधानमन्त्री अफर गरेको दाबी गरिएको भन्दै महामन्त्री शर्माले त्यस्तो हल्ला खारेज गरिएको बताए । उनले भने,‘कांग्रेसले प्रधानमन्त्रीको अफर गर्यो भनेर हल्ला मच्चाइएको छ । गृहमन्त्री नै चाहिन्छ भन्नेले प्रधानमन्त्री किन लिएन होला ?’

उनले जीबी राईलाई सरकारले नै ल्याउन नचाहेको बताए । उनले जीबी राई गृहमन्त्रीको सम्पर्कमा रहेको दाबीसमेत गरे ।