दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षासम्बन्धी कानुन नहुँदा समस्या परेको बताएकी छन् ।
आइतबार घोराहीमा सरकारी कार्यालयका प्रमुख तथा सूचना प्रविधि अधिकारीका लागि लक्षित गरी आयोजना गरिएको साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले कानुन निर्माणका लागि सरकार अगाडि बढेको समेत उल्लेख गरिन् ।
उनले साइबर सुरक्षासम्बन्धी कानुन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह गरिन् । सबै क्षेत्रको सुझाव सङ्कलन गरेर सरकार कानुन निर्माण गरेर अगाडि बढ्ने बताउँदै उनले हरेक नागरिकलाई सचेत गराउन तीनै तहका सरकारले सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।
सूचना प्रविधिको प्रयोगले सेवालाई सहज, छिटो बनाइदिने भए पनि कतिपय अवस्थामा दुरुपयोग हुँदा यसको असर धेरै क्षेत्र उनको भनाइ थियो ।
सरकारी कार्यालयमा सूचना तथा तथ्याङ्क सुरक्षित कसरी राख्ने भन्ने विषयमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव राजकुमार महर्जनले जानकारी दिए ।