शालिनको पोस्टमार्टम रिपोर्ट : बलात्कार पुष्टि भएन, मृत्युको कारण ‘ह्याङ्गिङ’



काठमाडाैँ । चितवनको रत्ननगरस्थित छात्रावासमा मृत फेला परेकी बालिकाको पोष्टमर्टम रिपोर्ट आएको छ।

रत्ननगर नगरपालिका वडा नम्बर १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा सालिन पोखरेल कक्षा ८ मा अध्ययनरत छात्रा शालिन फागुन १२ मा होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।


पोष्टमर्टम रिपोर्टअनुसार उनको झुण्डिएर मृत्यु भएको देखिएको स्रोतले जानकारी दिएको छ। उनको मृत्युको कारणबारे पोस्टमार्टम रिपोर्टमा लेखिएको छ, ‘ह्याङ्गिङ ।’

शालिनलाई बलात्कार गरेको शव परीक्षणबाट देखिएको छैन । पोस्टमार्टममा संलग्न एक जना चिकित्सकले भने, बलात्कार पुष्टि भएन ।’  १४ वर्षीया पोखरेलको कन्याजाली नच्यातिएको (हाइमेन इन्टयाक्ट) रहेको पोष्टमार्टमाबाट खुलेको छ ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरू डा. गोपाल चौधरी र डा. युगेन डोल्मा वालुङसहिका ५ जना फरेन्सिक विशेषज्ञहरूले शालिनको शव परीक्षण गरेका हुन् । पीडित परिवारले उनको शरीरमा चोटपटक रहेको दाबी गर्दै आएका छन् । तर, पोस्टमार्टम रिपोर्ट अनुसार शरीरमा ठुलो चोटपटक देखिएको छैन ।

मृत्यु भएपछि मृतकका आफन्तले उनको हत्या र बलात्कार भएको भन्दै आएका थिए। त्यसपछि उनीहरूले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले प्रधानाध्यापकसहित तीन जनालाई पक्राउ गरेको थियो

प्रहरीले वडा नम्बर १० कै ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षका किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो। बालहरि उक्त स्कुलका प्रधानाध्यापक, किरणबहादुर सहप्रधानाध्यापक र कमल होस्टेलका वार्डेन हुन्।

शव पोष्टमर्टमका लागि काठमाडौंस्थित महाराजगञ्ज शिक्षण अस्पतालमा ल्याइएको थियो। डा. गोपाल चौधरीसहित टोलीले पोस्टमर्टम गरेको थियो। प्रहरीले घटनास्थलबाट सुसाइड नोट पनि फेला पारेको थियो। उक्त नोटमा आफूले बाँच्न नचाहेको भन्ने विवरण उल्लेख गरिएको थियो। उक्त नोट पनि परीक्षणका लागि प्रहरीले पठाएको छ।