एक नातेदारले युक्रेनमा लड्न पठाइएको बताएको केही दिनपछि रुसी सेनाले भर्ती गरेको एक नागरिकको मृत्यु भएको मस्कोस्थित भारतीय दूतावासले बताएको छ । रुसको आक्रमण सुरु भएको दुई वर्षपछि युक्रेनमा उसका हजारौँ सैनिक मारिएका छन् र मस्को थप लडाकूहरूको वैश्विक खोजीमा छ ।
नयाँदिल्लीमा विदेश मन्त्रालयले गत महिना रुसी सेनामा ‘फँसेका’ करिब २० भारतीय नागरिकको सुरक्षित रिहाइका लागि काम गरिरहेको बताएको थियो । दूतावासले मोहम्मद अफसानको मृत्युपछाडिको परिस्थितिबारे खुलाएन तर उनको परिवार र रुसी अधिकारीहरूको सम्पर्कमा रहेको बताएको छ । “मिसनले उनको पार्थिव शरीर भारत पठाउन प्रयास गर्नेछ”, दूतावासले सामाजिक सञ्जाल एक्समा लेखेको छ ।
अफसानका भाइ मोहम्मद इमरानले फेब्रुअरीमा आफ्नो भाइ करिब दुई महिनादेखि बेपत्ता भएको बताएका थिए । अफसानले अन्तिमपटक दक्षिणी रुसी सहर रोस्तोभ–अन–डनबाट फोन गरेर उनलाई अग्रिम मोर्चाका लागि तैनाथ गरिएको बताएको इमरानले बताएका थिए ।
भाग्न सफल अर्का एक भारतीय सैनिकले आफ्नो परिवारलाई ३० वर्षीय अफसान गोली लागेर घाइते भएको बताएको इमरानले बताए ।
अफसान रुसी सेनामा कार्यरत आफ्ना नागरिकमध्ये भारतीय अधिकारीहरूले पुष्टि गरेको पहिलो मृत्यु हो र समग्रमा यो दोस्रो मृत्यु हो । गुजरात राज्यका २३ वर्षीय एक व्यक्ति ‘सुरक्षा सहायक’ का रूपमा काम गर्दा युक्रेनी हवाई आक्रमणमा मारिएको स्थानीय सञ्चारमाध्यमले आफन्त र अर्का भारतीय सैनिकलाई उदृत गर्दै गत महिना बताएको थियो ।
सेनामा भर्ती भएका केही भारतीयले गत महिना अग्रिम मोर्चामा पठाइनुअघि उनीहरूलाई उच्च तलब र रुसी राहदानी दिने वाचा गरेर सेनामा सामेल हुन प्रलोभन दिइएको बताएका थिए । आफूहरूलाई गैर–लडाकू भूमिका दिने वचन दिइएको तर युक्रेन पठाउनुअघि कलाश्निकोभ एसल्ट राइफल र अन्य हतियारको प्रयोग गर्नका लागि प्रशिक्षित गरिएको उनीहरूले बताएका थिए ।