राष्ट्रियसभाका नव निर्वाचित १९ सदस्यको शपथग्रहण आज



काठमाडौं । राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दै छन् । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका लागि २०७४ फागुनमा निर्वाचित एक तिहाइ सदस्यको कार्यकाल आइतबार मध्यराति सकिएको छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले नवनिर्वाचित सदस्यको शपथग्रहण अहिले बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा जानकारी दिए। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ मा निर्वाचित सदस्यले राष्ट्रिय सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।


राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल आइतबार मध्यराति सकिएकाले उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचित सदस्यको शपथग्रहण गराउने प्रवक्ता गिरीको भनाई छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार निर्वाचित सदस्यमध्ये एक जनाले मातृभाषामा शपथग्रहण गर्ने भएका छन् । सुदूरपश्चिमबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रेनु चन्दले मातृभाषामा शपथ लिन लागेकी हुन्् । उनी नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएकी हुन् ।

गत माघ ११ गते सम्पन्न निर्वाचनले राष्ट्रिय सभाका १९ सदस्य निर्वाचित गरेको थियो । रिक्त रहेको एक जना सदस्य राष्ट्रपतिबाट मनोनित हुने छन् । शपथग्रहण गरेका सदस्य आज अपराह्न १ः१७ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा सहभागी हुने छन् ।