मिथिलामा महाशिवरात्रिको उल्लास



महोत्तरी । जय शम्भो ! जय भोलेनाथ !! एउटै वाणी, एउटै पुकारा । आज महाशिवरात्रि पर्वमा मधेसका प्राचीन मिथिलाक्षेत्रका शिवालय भक्तजनको जयजयकारले गुञ्जायमान छन् । महाशिवरात्रि पर्वका अवसरमा महोत्तरीका प्राचीन शिवालय जलेश्वरनाथ, टुटेश्वरनाथ, मङ्गलनाथ, सिद्धनाथसहितका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । 

जलेश्वरनाथ जलेश्वर–१, टुटेश्वरनाथ बर्दिबास–५, मङ्गलनाथ सोनमा–६ र सिद्धनाथ मन्दिर भङ्गाहा–५ मा पर्छन् । यी शिवालयमा गए रातिदेखि नै धार्मिक अनुष्ठान र मङ्गलगान हुँदैछ । शिवालय परिसरमा  बिहीबार एक हजार आठ कन्याले पवित्र नदीबाट नयाँ माटोका घडामा भरेर ल्याएको पवित्र जलले सेचन गरिएको छ । तीन दिन उत्सवमय मनाइने महाशिवरात्रि पर्वमा धार्मिक मेला आयोजना गरिएका छन् । जताततै शिव महिमाका भजन गुञ्जिएका छन् ।


यसैगरी गेढाभेटपुरस्थित धष्णेश्वरनाथ, बर्दिबास–३ र मण्डलस्थित इन्द्रेश्वरनाथ, बर्दिबास–१४ को कामेश्वरनाथ र भङ्गाहाको सीतापुरस्थित सन्तानेश्वरनाथ  महादेव मन्दिर परिसरमा हजारौँ सङ्ख्यामा दर्शनार्थी पुगेका छन् । बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको जलेश्वरनाथ मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बताए ।

मिथिलामा महाशिवरात्रि पर्व सम्पन्न गरिएलगत्तै १५ दिने मिथिला माध्यमिकी परिक्रमा प्रारम्भ हुन्छ । फागुन आँैशीका दिन धनुषाको ठेराकचुरीस्थित रामजानकी मठबाट अवधविहारी (श्रीराम) को प्रतिमा राखिएको डोला बोकेर निस्कने साधुसन्त र श्रद्धालु भक्तजनको भीडमा जनकपुरधामस्थित अग्नीकुण्ड मठबाट किशोरीजी (सीताजी) को प्रतिमा राखिएको डोला अघि लगाइन्छ । यो यात्रामा बाजागाजासाथ जानकी मन्दिर, राममन्दिर, जनक मन्दिर र जनकपुरस्थित पवित्र तलाउ गङ्गासागर र धनुषसागरको प्रदक्षिणा गर्दै धनुषाकै हनुमानगढीमा रात्रि बास गरिन्छ । यो बाससँगै मिथिला माध्यमिकी परिक्रमा फागुन शुक्लपक्षभरि प्राचीन मिथिलाका विभिन्न तीर्थस्थलको परिक्रमा गरेर जनकपुर नै पुगेर टुङ्ग्याइन्छ । यो माध्यमिकी यात्रा आइतबार सुरु हुँदैछ ।

मिथिला माध्यमिकी परिक्रमामा महोत्तरीको मटिहानीमा चौथो दिन यात्रीटोली पुग्ने परम्परा छ । पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको बाससँगै महोत्तरीको यात्रा पूरा हुन्छ । त्यसैगरी धनुषामा पहिलो दिन हनुमानगढी, नवौँ दिन पर्वता, १०औँ दिन धनुषाधाम, ११औँ दिन सतोखर, १२औँ दिन औरही र अन्तिम १५ औँ दिन जनकपुरको रङ्गशाला मैदानमा रात्रिबासको परम्परा छ । एक सय ३३ किलोमिटर वृत्तमा परिक्रमा गरिने यो धार्मिक यात्रामा मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा चार रात्रिबास गरिन्छ । 

दोस्रो दिन कल्याणेश्वर (कलना), तेस्रो दिन फूलहर (गिरिजास्थान), १३औँ दिन करुणा र १४औँ दिन विसौल रात्रिबासको परम्परा छ । यस यात्रामा २६ किमी भारतमा र बाँकी नेपालका महोत्तरी र धनुषा जिल्लामा पर्दछन् । पहिलो मधेस प्रदेशसभाले नै प्रदेशको राजधानी जनकपुरधाम तोक्दा नेपालतर्फका परिक्रमा घेराभित्रका भूभाग समेटेर परिभाषित गरेको साहित्यकार डा राजेन्द्रप्रसाद विमलले बताए ।

पूर्वमा कल्याणेश्वर, पश्चिममा जलेश्वरनाथ, उत्तरमा क्षीरेश्वरनाथ र दक्षिणमा सतोखरनाथ यस क्रममा प्रदक्षिणा गरिने शिवालय हुन् । महाशिवरात्रिको तयारीमा रहेका मैथिललगत्तै सुरु हुने मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागतका लागि पूर्व तयारी गर्दैछन् । मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई रात्रिबासमा स्थानीयले बासस्थान, भोजन, पानी, प्राथमिक स्वास्थ्योपचारको प्रबन्ध गर्ने चलन छ । महाशिवरात्रि र माध्यमिकी परिक्रमा आपसी द्वेष हटाउन, मानवीय सेवामा लाग्न उत्प्रेरित गर्ने पर्व मानिन्छन् । परिक्रमा समापनसँगै उल्लासको पर्व फागु मनाइन्छ ।