लण्डन । वेल्सकी राजकुमारीले आफूलाई क्यान्सर भएको खुलासा गरेकी छन् । एक भिडियो सन्देश जारी गर्दै केट मिडलटन (क्याथरिन) ले आफूले क्यान्सरको प्राथमिक चरणको उपचार गराइरहेको बताएकी हुन् ।
भिडियोमा उनले भनेकी छन्, ‘केही अविश्वसनीय कठिन महिनाहरू पछि ठूलो झटका लागेको थियो । म अहिले ठीक छु र दिनप्रतिदिन बलियो हुँदै गएको छु ।’
बेलायतको दरबारले उनी पूर्ण रुपमा निको हुने विश्वास व्यक्त गरेको छ । राजकुमारी केटको गत जनवरीमा पेटको शल्यक्रिया गरिएको थियो तर त्यति बेला क्यान्सर भएको थाहा नभएको बताइएको छ ।
राजकुमारी केटले भनेकी छन्, ‘यद्यपि शल्यक्रियापछि गरिएको परीक्षणले मेरो शरीरमा क्यान्सर भएको थाहा भयो । मेरो मेडिकल टिमले मलाई निवारक केमोथेरापीको कोर्स लिनु पर्ने सल्लाह दियो । म उपचारको प्रारम्भिक चरणमा छु ।’
उनको केमोथेरापी फेब्रुअरीको अन्त्यमा सुरु भएको थियो । दरबारले भने यस समयमा कुनै पनि व्यक्तिगत चिकित्सा जानकारी साझा नगर्ने बताएको छ । यो कस्तो क्यान्सर हो भने बारे राजकुमारीले बताएकी छैनन् ।