रुसले अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने कुनै योजना नबनाएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । देशको सुरक्षा परिषद्का सदस्यहरूसँगको बैठकमा पुटिनले यस्तो बताएका हुन् ।
उनले आफूले पहिले नै अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने भन्ने निराधार हल्लाको झूटा आरोपहरूबारे स्पष्ट पारिसकेको बताए । उनले यो पश्चिमाहरूले चलाएको हल्लामात्र भएको बताए । आफ्नो वार्षिक स्टेट अफ नेशन सम्बोधनमा राष्ट्रपति पुटिनले त्यस्ता आरोपहरूलाई निराधार र नक्कली कथा मात्र भएको उल्लेख गरेका थिए ।
रुसले आणविक अन्तरिक्ष हतियारको विकासमा काम गरिरहेको अमेरिकी गुप्तचर तथ्याङ्कले खुलासा गरेको दाबी गर्ने पश्चिमी सञ्चार माध्यमको हल्लापछि यस्तो प्रतिक्रिया आएको हो ।