गूगलका पूर्वइन्जिनियरमाथि एआईसम्बन्धी गोप्य सूचना चोरेको आरोप



बीबीसी । अमेरिकामा गूगलका एकजना पूर्व सफ्टवेयर इन्जिनियरलाई आर्टिफिशल इन्टेलिजेन्सबारेका गोप्य कुराहरू चोरेर दुई चिनियाँ कम्पनीका लागि काम गरेको आरोप लगाइएको छ ।

लीअन डिङ भनेर पनि चिनिने लिनवेइ डीङलाई क्यालिफोर्निया राज्यमा चार प्रकारका आरोपमा दोषी ठहर गर्दै बुधवार गिरफ्तार गरिएको छ । यी चिनियाँ नागरिकले ५०० भन्दा बढी अति गोप्य फाइल चोरेको आरोप लगाइएको छ । उनले प्रत्येक आरोपमा १० वर्षसम्मको जेल सजाय र २ लाख ५० हजार डलरसम्मको जरिवाना तिर्नुपर्ने हुन सक्छ ।


डीङको प्रतिक्रियाका लागि उनका वकिलको पहिचान भई नसकेको स्थानीय मिडियाले लेखेका छन् । उनले चोरेको भनिएको सूचना गूगलको सुपरकम्प्युटिङ डेटा सेन्टरको संरचना सम्बन्धित रहेको बताइएको छ। जसको उपयोग ठूलाठूला एआई मोडललाई एक ठाउँमा राख्ने र प्रशिक्षण दिनेबारे रहेको छ । अभियोगपत्रका अनुसार डीङलाई गूगलले सन् २०१९ मा काममा राखेको थियो।

उनको जिम्मेवारीमा उक्त सफ्टवेयर विकास पनि पर्थ्यो । उनले गूगलको सञ्जालमा सञ्चित सूचनालाई आफ्नो व्यक्तिगत गूगल अकाउन्टमा मे २०२२ मा अपलोड गर्न सुरु गरेको आरोप लगाइएको छ ।

त्यस्तो अपलोड नियमित रूपमा एक वर्षसम्म गरिएको अभियोगपत्रमा उल्लेख छ । त्यसैबीच डीङले चीनमा केही महिना बिताएको र बेइजिङ रोङगशु लियानझी टेक्नोलोजी नामको एउटा स्टार्टअप टेक कम्पनीका लागि काम गरेको बताइएको छ । अभियोगपत्रका अनुसार उनलाई कम्पनीले १४ हजार ८०० अमेरिकी डलर प्रतिमहिना तलब लिएर कम्पनीको प्रमुख प्रविधि अधिकारी (चीफ टेक्नोलोजी अफिसर) बन्न आग्रह गरेको थियो।