गठबन्धनमा सहभागी हुन ओली र प्रचण्डको औपचारिक प्रस्ताव, माधव नेपाल सकारात्मक



काठमाडौं । नेकपा एकीकृत समाजवादीलाई एमालेसहितको गठबन्धनमा सहभागी हुन औपचारिक प्रस्ताव गरिएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको निवास कोटेश्वरमा मंगलबार साँझ भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा सहभागी हुन औपचारिक प्रस्ताव गरेका हुन् ।


बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले सकारात्मक जवाफ आएको बताए । ‘माधवजीको स्वास्थ्य बुझ्न र स्वास्थ्य लाभको कामना गर्न आएका थियौँ । यही क्रममा देशको परिस्थितिको बारे चर्चा चल्नु स्वाभाविक नै हो’, नेपाल गठबन्धनमा सहभागी हुनेबारेमा ओलीले भने, ‘एफर्मेटिभ (सकारात्मक) ।’

प्रधानमन्त्री प्रचण्डले नेपाललाई एमाले अध्यक्ष ओली सँगै कोटेश्वर आउने जानकारी गराएका थिए । त्यसको केहीबेरमा प्रचण्ड र ओलीे माधव नेपाल निवास कोटेश्वर पुगेका थिए । प्रचण्ड र ओलीसँगै एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि माधव नेपालको निवासमा पुगेका थिए ।