काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने भएको हो । अप्रत्यासितरुपमा सत्ताशक्तिबाट विमुख भएपछि पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले त्यसबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठबन्धन बनाएपछि कांग्रेस अब प्रमुख प्रतिपक्षीको भूमिकामा पुगेको छ ।बिहीबार संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । संसद्को बैठकअघि काँग्रेसले अब प्रमुख प्रतिपक्षीको भूमिकामा संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउन बैठक बोलाएको हो ।
बैठकमा समसामयिक राजनीतिक विषयहरू र पार्टीको अबको रणनीतिका विषयमा छलफल र निर्देशन हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।