कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा बिहानैदेखि चट्टयाङ्गसहित वर्षा



काठमाडौं । हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रही कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन चट्टयाङ्गसहित हल्का वर्षा भईरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका पहाडी भु-भागका एक-दुई स्थानमा मेघगर्जन चट्टयाङ्गसहित हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


त्यस्तै, आज राती कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।