अबको ९० दिनमा गृह मन्त्रालयका हरेक सूचक माथि जानुपर्छ, गएन भने गम्भीर समीक्षा हुन्छ: गृहमन्त्री



काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तत्काल देखिने काम गर्न ७७ वटै जिल्ला सुरक्षा समितिका अधिकारीहरुलाई निर्देशन दिएका छन् । बिहीबार साँझ गृह मन्त्रालयबाट जिल्ला सुरक्षा समितिका अधिकारीहरुलाई गृहमन्त्री लामिछानेले ‘भर्चुअल’ बैठकमा दण्डहिनताको अन्त्य र फरार अपराधीको नियन्त्रणमा तत्काल देखिने गरी काम गर्न निर्देशन दिएका हुन् ।

उनले अबको तीन महिनाभित्र गृहको हरेक सूचक माथि जाने गरी काम गर्न निर्देशन दिए । उनले भने, ‘अबको ९० दिनमा गृह मन्त्रालयका हरेक सूचक माथि जानुपर्छ । गएन भने गम्भीर समीक्षा हुन्छ । र, काममा आलटाल गर्ने, निर्देशन पालना र लक्ष्य पूरा नगर्नेको मूल्यांकन हुन्छ ।’


उनले तस्करी नियन्त्रण गर्न, सुरक्षा कायम गर्न, प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न र गुन्डागर्दी नियन्त्रण गर्न कसैको निर्देशन नकुर्न आग्रह गरेका छन् । उनले भने, ‘चोटाकोठामा दौडने काम हाम्रो हो, सेवाग्राहीको होइन । तस्करी नियन्त्रण गर्न, सुरक्षा कायम गर्न, प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न र गुन्डागर्दी नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु पर्दैन । गृह मन्त्रालय हिजो कसरी चलेको थियो थाहा छैन, अब हिजोको जसरी चल्दैन । गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस नागरिकले भोलि नै महसुस गर्नुपर्छ । कति दिन रहन्छु थाहा छैन । जति रहन्छु राम्रो गर्छु । नागरिकलाई आशा दिनुबाहेक मेरो स्वार्थ छैन ।’

उनले समस्या लिएर आउनेहरूको काम तत्काल गरिदिन पनि निर्देशन दिएका छन् । उनले भने,’काम नहुने छ भने कारण भनेर कन्भिन्स गरिदिनुस् । नागरिक समस्या लिएर सिंहदरबार आउनु नपरोस् । समाधान नभएका समस्या चाहिँ तपाईंहरूमार्फत सिंहदरबार आओस्,’ उनले भने । उनले सरुवा बढुवाका लागि राजनीतिक नेताहरुको घरदैलो चहार्ने काम नगर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘तपाईंहरूको राजनीतिक नेतृत्वसँग सुसम्बन्ध नै रहोस् । तर, तपाईंको स्वार्थमा उनीहरू (राजनीतिक नेतृत्व)बाट मलाई, मेरो सचिवालयलाई, परिवारलाई सरुवा–बढुवाको चिट आउने, गल्ती गर्दा बचाउन सिफासिर गर्ने विद्यमान प्रवृत्ति स्वीकार्य हुँदैन । अमूक नेता, तस्कर, स्वार्थ समूहले फलानो मान्छे चाहियो भन्यो भने जसको नाम आउँछ उसलाई चाहिँ कारबाही गर्छु ।’