सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीमा संलग्न जो भए पनि नछाड्न उपप्रधान तथा गृहमन्त्रीलाई निर्देशन दिएका छन् ।

शुक्रबार बिहान सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीलाई कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयनको ग्यारेन्टी गर्न, जुनसुकै दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउन र प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन निर्देशन दिएका हुन् ।


सुन तस्करी छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा गठित जाँचबुझ आयोगले पाँच महिनामा तयार पारेको प्रतिवेदन गृहमन्त्री रवि लामिछानेले आज प्रधानमन्त्रीलाई बुझाएका हुन् । प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थालेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।