सर्लाहीबाट १० निरीक्षक निष्काशित, एक परीक्षार्थीले हिरासतबाटै परीक्षा दिए



बरहथवा (सर्लाही) । सर्लाहीबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) का १० परीक्षा निरीक्षक निष्कासनका परेका छन् । 

बिहीबार सुरु भएको परीक्षामा मर्यादा कायम नगरेको आरोपमा १० जना परीक्षा निरीक्षकलाई कारबाही गरिएको हो । कारबाहीस्वरुप उनीहरूलाई जारी एसइईमा निरीक्षकका रूपमा बस्न नदिने गरी निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख रामवृक्ष महतोले जानकारी दिए ।


कारबाहीमा पर्ने निरीक्षक जिल्लाका दक्षिणी क्षेत्रका परीक्षा केन्द्रका रहेका जनाइएको छ । गोडैता नगरपालिकास्थित बेणीभोला माध्यामिक विद्यालय, जनता नमूना माध्यामिक विद्यालय, जनता मावि रामवन र बलरा नगरपालिकास्थित रामसखी मोहितसिंह मावि, जनता मावि, नेपाल राष्ट्रिय रामचन्द्र शिवचन्द्र माविका परीक्षा केन्द्रका निरीक्षकलाई कारबाही गरिएको जिल्लास्तरीय परीक्षा समन्वय समिति अध्यक्ष प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।

यसैबीच जिल्लामा छिटफुटबाहेक पहिलो दिनको एसईई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्लास्तरीय परीक्षा समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी धमलाले जानकारी दिए ।  

यस वर्ष सर्लाहीबाट एसईईमा १० हजार आठ सय ९६ परीक्षार्थी सहभागी भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार छ हजार सात सय ८३ छात्रा र चार हजार एक सय १३ छात्रले परीक्षा दिइरहेका हुन् । एक सय ५८ जनाले ग्रेड वृद्धिका लागि परीक्षा दिन लागेका हुन् । जिल्लाका एक सय पाँच सामुदायिक र ४५ संस्थागत विद्यालयका छात्रछात्राले एसइईमा सहभागिता जनाएका छन् । 

सामुदायिक विद्यालयबाट नौ हजार पाँच सय ६२ र संस्थागत तर्फबाट एक हजार तीन सय ३४ छात्रछात्रा एसईईमा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख महतोले जानकारी दिए ।

यस्तै जिल्लामा यस वर्ष ३८ परीक्षा केन्द्र तोकिएको छ । गत वर्ष ३७ परीक्षा केन्द्र तोकिएकामा यस वर्ष हरिपुर नगरपालिका–१ लक्ष्मीपुरस्थित रामऔतार लक्ष्मीनिया मावि हजारबिगाह थपिएर ३८ पुगेको समन्वय एकाइका प्राविधिक सहायक सुनिल कुशवाहले जानकारी दिए ।

यस वर्ष परीक्षा सञ्चालनका लागि यहाँ ३८ केन्द्राध्यक्ष, ७३ सहायक केन्द्राध्यक्ष, पाँच सय ४४ निरीक्षक, एक सय तीन सय परीक्षा सहायक र अन्य गरी एक हजार १६ जनशक्ति परिचालन गरिएको छ । परीक्षालाई अनुशासित र मर्यादित बनाउन सबैसगँ समन्वय गरिएको उनले बताए ।