काठमाडौं । नेकपा एमालेको शीर्ष नेतृत्वले पार्टीको अग्रसरतामा बनेको नयाँ समीकरण र सहकार्यको पाँच दलीय सरकारलाई सहयोग गर्न जनसंगठनहरुलाई निर्देशन दिएको छ ।
पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा मोर्चा संगठनमा आबद्ध २३ जनसंगठनका प्रमुखहरुलाई बोलाएर महासचिव शंकर पोखरेलले सोमबार त्यस्तो निर्देशन दिएका हुन्।
मोर्चा संगठनको बैठकमा पोखरेलले नयाँ समीरणको कारण र बदलिएको परिस्थितिमा जनसंगठनहरुको भूमिकाबारे प्रशिक्षित गरेका थिए ।
पोखरेलले गठबन्धन नभत्किएसम्म राष्ट्रिय हित नहुने भएकाले सरकार परिवर्तन गर्नुपर्ने पार्टीको सोच र कांग्रेससँगको सहकार्य गलत भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ‘रिअलाइजेशन’का कारण नयाँ समिकरण र सहकार्यमा एमाले–माओवादीसहितको सरकार बनेको बताए ।
नयाँ समिकरण र सहकार्य राष्ट्रिय हित, विकास र सुशासनको पक्षमा रहेको भन्दै पोखरेलले यसलाई अझ बलियो र फराकिलो बनाउने प्रयास भइरहेको पनि जानकारी गराए ।
‘हामीले गठबन्धन नभनेर नयाँ समिकरण, नयाँ सहकार्य भनेका छौं । कतिपयले यसलाई वामपन्थी सरकार भनेका छन् । हामीले मूलतः अहिले जनताको निराशालाई बदलेर सुशासन र विकासको पक्षमा रहेका दलहरुको बीचमा सहकार्य भनेका छौं । त्यो सुरु भएको छ,’ पोखरेलले भने, ‘नयाँ समीकरण र सहकार्यलाई बलियो बनाउन सबैलाई विश्वासमा लिएर मिलाएर अघि बढ्ने मान्यतासहित बढेका छौं ।’
उनले सरकारलाई राष्ट्रिय हित, विकास, सुशासन र सामाजिक न्यायका पक्षमा काम गर्ने गरी जनतासँग जोड्ने भूमिका खेल्न निर्देशनसमेत दिए ।
‘सिंगो सरकारलाई सफल, प्रभावकारी बनाउने हिसाबले अघि बढ्नुपर्छ । जनसंगठनहरुले राष्टिय हित, विकास र सुशासनको प्रश्नमा सामाजिक नयायको प्रश्नमा कसरी प्रभावकारी बनाउने, जनतासँग जोड्ने कुरामा भूमिका हुनुपर्छ। जनतामा देखिएको निराशालाई आशामा बदल्नेगरी जनभावनालाई सरकालाई जोड्ने कुरामा भूमिका खेल्नुस, योजनाबद्ध ढंगले लाग्नुस्,’ पोखरेलले भने ।