सत्ता समीकरण परिवर्तन नेपालको आन्तरिक मामिला होः भारतीय राजदूत श्रीवास्तव



काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हालै भएको सत्ता समीकरणको परिवर्तन नेपालको आन्तरिक मामिला भएको बताएका छन् ।

नवनियुक्त अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ सँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत श्रीवास्तवले सत्ता समीकरणबाट भारतले नेपालप्रतिको धारणामा परिवर्तन नगर्ने स्पष्ट गरे ।


‘सत्ता समीकरणमा भएको फेरबदल नेपालको आन्तरिक मामिला हो । यही कारण भारतको नेपालप्रतिको दृष्टिकोणमा कुनै फेरबदल नआउने भारत सरकारको सन्देश रहेको जानकारी गराउन चाहन्छु,’– उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग डेढ वर्षदेखि जारी सहकार्य सन्तोषजनक रहेको भन्दै उनले आगामी दिनमा पनि विश्वासका साथ काम गर्ने प्रतिबद्धता जनाए । श्रीवास्तवले नेपाल–भारतबिच सम्बन्ध मौलिक रहेको चर्चा गरे ।

उनले सम्बन्ध विगतमा जस्तै असल रहने प्रतिबद्धता जनाउँदै आपसी विश्वासका साथ सहयोग र लगानीका निरन्तर काम गर्ने पनि बताए ।