सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । बैठक अहिले बिहान आठ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठकमा मन्त्री हेरफेर, राष्ट्रियसभा अध्यक्षको उम्मेदवार, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक लगायतका विषयमा छलफल हुने बताइएको छ ।


परराष्ट्रमन्त्री एनपी साउदको अन्तिम समयमा रद्द भएको फिनल्याण्ड भ्रमण र कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना पार्टीबाट मन्त्री बनेकाहरुसँग गरेको छलफललाई मन्त्रिपरिषद हेरफेरको पूर्वसंकेतको रुपमा हेरिएको छ ।

गठबन्धनको बैठकमा राष्ट्रियसभा अध्यक्षको उम्मेदवारको विषयमा पनि छलफल हुने बताइएको छ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन यही फागुन २९ गते हुने कार्यतालिका छ । राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले दाबी गरेका छन् ।

यसैगरी सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ ।

विधेयकसम्बन्धी समितिको मस्यौदा प्रतिवेदनलाई आइतबार नै कानुन समितिको बैठकबाट पास गर्ने तयारी थियो । तर कानुन मन्त्री धनराज गुरुङले दलहरुबीच सहमति जुटाउनका लागि केही समय मागेपछि बैठक स्थगित गरिएको थियो । विधेयकसम्बन्धी समितिको मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न कानुन समितिको बैठक सोमबार बिहान पुनः बस्दैछ ।