काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुबीच राष्ट्रिय सभाको उपाध्यक्ष नेकपा (एकीकृत समाजवादी) लाई दिने निर्णय भएको छ ।
आज (मंगलबार) बसेको सत्तारुढ गठबन्धन दलको बैठकले यस्तो निर्णय गरेको हो । एकीकृत समाजवादीलाई गठबन्धनमा ल्याउन एमालेले राष्ट्रिय सभाको उपाध्यक्ष पद छाडेको हो । यसअघि राष्ट्रिय सभाको उपाध्यक्ष एमालेलाई दिनबारे चार दलबीच सहमति बनेको थियो ।
एकीकृत समाजवादी पनि सत्तारुढ गठबन्धन दलमा सहभागी भनेपछि उक्त ८ बुँदे सहमति खारेज गर्दै पुनः ७ बुँदे सहमति बनेको छ ।
योसँगै सत्ता गठबन्धनमा सहभागी दलको संख्या पाँच पुगेको छ । अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी छन् ।