काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई न्यायाधीश बनेर क्लिन चिट दिने काम गरेको भन्दै आलोचना गरेका छन् । प्रतिनिधिसभाको आज (आइतबार) बसेको बैठकमा बोल्दै सांसद गौतमले यस्तो बताएका हुन् ।
उनले भने,‘अहिले अब गम्भीर प्रश्न कहाँ उठेको छ भने जसमाथि छानबिन भैरहेको थियो, जसमाथि यो मुद्दा निरुपण हुनुपर्ने थियो, राज्य निश्कर्षमा पुग्नुपर्ने थियो, उहाँ नै गृहमन्त्रीको जिम्मेवारी लिएर त्यो कुर्सी र ओहोदामा पुग्नुभएको छ । त्यतिमात्रै भएको छैन सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीजीले हामीले जवाफ खोज्दा न्यायाधीशजस्तो एकदमै हुकुमी प्रमाङ् दिने राजा महाराजाजस्तो एकदमै क्लिन चिट दिने प्रयास गर्नुभयो । सुरक्षा निकायका प्रमुख उहाँले समेत फासफुस ढंगले क्लिन चिट दिने प्रयास गर्नुभयो । हामीले उठाईरहेको मुद्दामा गम्भीर प्रश्नहरु जन्मिएको छ । हामी संसदीय समितिको माग गरिरहेका छौं । प्रमुख प्रतिपक्षी दलको नाताले यो विषय उठाईरहेका छौं ।’