शेखरको टिप्पणीः माओवादीसँगको गठबन्धन कांग्रेसलाई महँगो सावित भयो



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादीसँगको सहकार्य कांग्रेसका लागि महङ्गो सावित भएको टिप्पणी गरेका छन् ।

डा. कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कदमप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत पुरानो गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउनुलाई आफुले सामान्यरुपमा नलिएको बताएका हुन् । साथै उनले राजनीतिमा गठबन्धन बन्नु र तोडिनु सामान्य भए पनि पछिल्लो घटना भने सामान्य नभएको तर्क गरेका छन् ।


कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन अन्ततः नेपाली कांग्रेसलाई महङ्गो सावित भएको कोइरालाको भनाई छ । उनले माओवादीले गठबन्धन तोड्नुमा केहि हदसम्म कांग्रेस आफै जिम्मेवार हुनसक्ने पनि उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘राजनीतिमा गठबन्धन वन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजोको घटना सामान्य होईन। कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महङ्गो सावित भयो। यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौं ।’