काठमाडौं। रुद्रराज साहित्य सेवा समितिले शिक्षा र मानवअधिकारका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने दुई व्यक्तित्व र एक संस्थालाई पुरस्कृत र सम्मान गरेको छ।
सरदार रुद्रराज पाण्डेको १२४औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा समितिले चिकित्सा तथा मानअधिकारका क्षेत्रमा विशिष्ट योगदान दिएबापत डा गौरीशंकरलाल दासलाई सम्मान गरेको छ।
त्यस्तै, समितिले वरिष्ठ शिक्षाविद् प्राध्यापक शंकरराज पाठकलाई यसवर्षको शिक्षा सम्मान प्रदान गरेको छ । विसं २०१६ मा काठमाडौंमा सरस्वती कलेजको प्राचार्यबाट शिक्षा क्षेत्रमा प्रवेश गरेका उनले नेपाल प्राध्यापक संघको संस्थापक सदस्य, महासचिव, त्रिभुवन विश्वविद्यालयको उपकुलपतिलगायतका महत्वपूर्ण जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका थिए।
त्यस अवसरमा शिक्षाविद् पाठकलाई रु ५० हजार राशि नगदसहित सम्मानपत्र प्रदान गरियो। समितिले शिक्षा क्षेत्रमा डेढ दशकदेखि अनवरत योगदान पु¥याएवापत शिक्षक मासिक पत्रिकालाई पनि यसवर्ष विशेष सम्मान प्रदान गरेको छ। कार्यक्रममा शिक्षक मासिक पत्रिकाका सम्पादक राजेन्द्र दाहाललाई रु ५० हजार नगदसहित सम्मानपत्र प्रदान गरियो।
उनहरुलाई त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा केदारभक्त माथेमाले सम्मान एवं पुरस्कार प्रदान गरेका हुन्। विसं २०४४ मा स्थापित समितिले शिक्षा, साहित्य, इतिहास र अध्यात्मक क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्ति वा संस्थालाई प्रत्येक वर्ष आलोपालो गरी रुद्रराज पाण्डेको जन्मजयन्तीका अवसरमा सम्मान गर्दै आएको छ।
उनले नेपाली भाषा, साहित्य, शिक्षा, संस्कृति र आध्यात्मिक भावबाट राष्ट्र सेवामा विशिष्ट योगदान पु¥याएका थिए। सो अवसरमा पूर्वउपकुलपति माथेमाले आधुनिक शिक्षाको विकासमा धरोहरका रुपमा रहेका प्रचण्ड विद्वान पाण्डेले अध्यारोमा रहेको नेपाली समाजलाई उज्यालोतर्फ लैजान महत्वपूर्ण भूमिका खेलेको बताए।
उनले भने, ‘नेपाली समाजमा अहिले छिटो समाचार दिने होडमा अस्वस्थ्य प्रतिस्पर्धा देखिन्छ। घटनाको विश्लेषण नगरी आउने त्यस्ता समाचार अपूर्ण हुन्छन् । युवा पुस्तालाई गौरवमय इतिहासप्रति ज्ञान दिलाउन सबैको सामूहिक पहल आवश्यक छ।’
कार्यक्रममा प्राध्यापक त्रिरत्न मानन्धर, प्रा डा मोहनप्रसाद लोहनी, समितिका अध्यक्ष डा बद्रीराज पाण्डे, महासचिव डा निल पाण्डे, सम्मानित एवं पुरस्कृत व्यक्तित्व दास, पाठक र दाहालले सरदार पाण्डेको बहुआयामिक व्यक्तित्व र नेपालको शिक्षा क्षेत्रमा देखिएका चुनौतीबारे चर्चा गरे।
स्व पाण्डेले शिक्षा, साहित्य, आध्यात्मकको क्षेत्रमा गर्नुभएको कर्मले जीवन पर्यप्त पनि समाजले सम्झदै आएको बताउँदै उनीहरुले सेडा, सिनाष्टको अवधारणा कोर्ने र प्राज्ञिक क्रियाकलापबारे समाजलाई जानकारी दिइनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो भने।
पाण्डेकै पहलमा नेपालमै एसएलसी परीक्षा र नेपाली भाषामा पाठ्यपुस्तक तयार गरी विश्वविद्यालयमा पढाई प्रारम्भ भएको घटना पनि सो अवसरमा सुनाइयो।