लोकसभा निर्वाचनमा काङ्ग्रेसले जारी गर्यो ४३ उम्मेदवारको दोस्रो सूची



भारतमा कांग्रेसका महासचिव केसी वेणुगोपालले आगामी लोकसभा निर्वाचनका लागि ४३ उम्मेदवारको दोस्रो सूची घोषणा गर्नुभएको छ । सूचीमा कमल नाथका छोरा नकुल नाथ, अशोक गहलोतका छोरा वैभव गहलोत र कांग्रेस सांसद गौरव गोगोईसहित केही प्रमुख नाम उल्लेख छ ।

आसाम, मध्यप्रदेश, राजस्थान, उत्तराखण्ड तथा दमन र दीवको लोकसभा सिटका लागि उम्मेदवारको घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा महासचिव वेणुगोपालले भने, “सूचीमा ४३ उम्मेदवारमध्ये १० सामान्य उम्मेदवार, १३ अन्य पिछडिएका क्षेत्रबाट, अनुसूचित जातिबाट १०, अनुसूचित जनजातिबाट नौ र एक मुस्लिम उम्मेदवार छन् ।”


आसामबाट कूल १२, मध्यप्रदेशबाट १०, गुजरातबाट सात, राजस्थानबाट १०, उत्तराखण्डबाट तीन तथा दमन र दीवबाट एक उम्मेदवारको घोषणा गरिएको छ । त्रिचालीस उम्मेदवारको घोषणासँगै कांग्रेसले हालसम्म ८२ लोकसभा सिटमा उम्मेदवार घोषणा गरिसकेको छ ।

यसैबीच भारतीय जनता पार्टी (भाजपा) ले पनि लोकसभा सिटका लागि एक सय ९५ उम्मेदवारको घोषणा गरेको छ । पार्टीले सोमबार राति केन्द्रीय निर्वाचन समितिको पनि बैठक गरेको छ । लोकसभा निर्वाचन यसै वर्षको अप्रिल–मेमा हुने सम्भावना छ ।