लुम्बिनी सरकारबाट माओवादीका दुई मन्त्री बर्खास्त



लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । बुधबार मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसी नमुनालाई बरखास्त गरेका हुन् ।

केन्द्रमा समीकरण फेरबदल भएपछि लुम्बिनीमा पनि माओवादी मन्त्रीहरुलाई सरकारबाट हटाइएको हो । माओवादी केन्द्रले पनि कांग्रेस नेतृत्वमा रहेको लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । चौधरी गत वैशाख १४ गते नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक अन्य सबै ८ दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।


चौधरीलाई त्यतिखेर माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राजमो, एकीकृत समाजवादी लगायतको विश्वासको मत दिएका थिए । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको साथ आवश्यक पर्छ ।