युरोपेली संसदले अनुमोदन गरेको अभूतपूर्व मिडिया स्वतन्त्रता कानून युरोपेली सङ्घ (इयु) पत्रकारहरूलाई राजनीतिक दबाब र निगरानीबाट सही ढङ्गले बचाउन तयार छ ।
कानूनले पत्रकारहरूको स्रोतको गोपनीयताको सुरक्षा र पत्रकारविरुद्ध स्पाइवेयरको प्रयोगमाथि प्रतिबन्ध समावेश गरेको छ । उक्त कानूनलाई इयुका चार सय ६४ सांसदले मतदानमा समर्थन गरेका थिए । मतदानमा ९२ सांसद विपक्षमा देखिएका थिए भने ६५ जना अनुपस्थित थिए ।
अनुमोदित कानूनले सम्पादकीय स्वतन्त्रतालाई पनि सुनिश्चित गरेको छ र मिडिया स्वामित्वमा पारदर्शितामा सुधार गर्न खोजेको छ । कानून लागु हुनुअघि इयुका २७ सदस्य मुलुकले यसलाई ग्रहण गर्न आवश्यक छ ।
मूल्य र पारदर्शिताका लागि इयुका आयुक्त भेरा जोउरोभाले ‘ऐतिहासिक मत’ लाई स्वागत गर्दै सामाजिक सञ्जाल एक्समा भने, “स्वतन्त्र मिडिया लोकतन्त्रका लागि आवश्यक छ र उनीहरूको रक्षा गर्नु लोकतन्त्रको कर्तव्य हो ।”
पत्रकारहरूको सुरक्षा र स्वतन्त्रताको वकालत गर्ने मिडिया निगरानी संस्था रिपोर्ट्स विदआउट बोर्डर्स (आरएसएफ) ले पनि मतदानको स्वागत गरेको छ । आरएसएफको ब्रसेल्स कार्यालय प्रमुख जुली माजेरजाकले भने, “यो कानूनको ग्रहण इयुभित्र सूचनाको अधिकारका लागि ठूलो कदम हो ।” उनले इयुका सदस्य मुलुकहरूसँग कानूनलाई ‘महत्त्वाकांक्षी’ ढङ्गले लागु गर्न आह्वान गरे ।
युरोपेली मिडिया स्वतन्त्रता ऐनको मस्यौदा पाठ युरोपेली आयोगले सन् २०२२ मा हङ्गेरी र पोल्यान्डजस्ता इयुका मुलुकहरूमा बिग्रँदो मिडिया बहुलवाद र स्वतन्त्रताको प्रतिक्रिया तथा पत्रकारहरूलाई लक्षित गर्नका लागि पेगासस र प्रिडेटर जस्ता स्पाइवेयरको प्रयोग भइरहेको अवस्थामा प्रस्तुत गरेको थियो ।
स्ट्रासबर्गमा युरोपेली संसद्मा मतदानअघि मङ्गलबार कानूनमाथिको बहसमा जोउरोभाले कानूनका प्रावधानले युरोपमा मिडियाले सामना गरिरहेका ‘स्पष्ट समस्याहरू’ को समाधान गर्ने बताए ।
मिडियाले सामना गरिरहेका समस्याहरूमा सम्पादकीय निर्णयमा सरकारहरूको हस्तक्षेप, सार्वजनिक सेवाका मिडियामा दबाब, पत्रकारहरूको मिडिया निगरानी, मिडिया स्वामित्व र सरकारी विज्ञापनको पारदर्शिताको कमी वा मिडिया नियामकहरूबीचको समन्वयको कमी थिए ।
संसद्मार्फत कानूनको नेतृत्व गर्ने प्रमुख सांसद सबिन भेर्हेनले हङ्गेरीमा मिडिया स्वतन्त्रताको खतरा तथा सन् २०१७ अक्टोबर १६ मा माल्टाका खोज पत्रकार डाफ्ने कारुआना गालिजियाको हत्यामाथि प्रकाश पारे ।
उक्त समयमा अनुसन्धानमा मित्र तथा सहयोगीहरूलाई बचाउन कथित प्रयास गरेकामा व्यापक विरोध प्रदर्शन भएपछि माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले राजीनामा दिन बाध्य हुनुपरेको थियो । कार बम हत्याका दोषी तीन हमलाकारी भिन्सेन्ट मस्कट (पूर्वप्रधानमन्त्रीसँग कुनै सम्बन्ध नभएका) र भाइहरू जर्ज र अल्फ्रेड डेगियोर्जियोलाई सन् २०२१ र सन् २०२२ मा क्रमशः १५ वर्ष र ४० वर्षको कारागार सजाय सुनाइएको थियो ।
युरोपेली संसद्मा आज कारुआना गालिजियाको सम्मानमा एउटा कक्ष छ र उनको नाममा वार्षिक पत्रकारिता पुरस्कार प्रदान गरिन्छ ।