मिर्गौला जोगाउन अपील गर्दै ओलीले भने- जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला जोगाउन सार्वजनिक अपील गरेका छन् ।
विश्व मिर्गौला दिवसको अवसरमा बिहीबार बिहानै सामाजिक सन्जालमार्फत मिर्गौला दिवससँग आफ्नो भावनात्मक अनुभूति रहेको जनाउँदै यसलाई जोगाउन आग्रह गरेका हुन् ।

दुईपटक मृगौला प्रत्यारोपण गरेका अध्यक्ष ओलीले लेखेका छन्, ‘मैले दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु । हाम्रो सानो लापर्वाहीले मिर्गौला बिग्रिन सक्छ । जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ ।’ उनले मिर्गौला प्रत्यारोपण गर्नु धेरै जटिल काम भएको पनि बताएका छन् । ‘मिर्गौला प्रत्यारोपण गर्नु धेरै जटिल काम हो’ उनले भनेका छन्, ‘डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ ।’


उनले आफू सरकारमा हुँदा डाइलासिस् निःशुल्क गर्ने कार्यक्रम ल्याएका स्मरण गर्दै भनेका छन्, ‘मिर्गौला जोगाउन हामी आफैं सजग हुनुपर्छ, डाइलासिस् त अल्पकालीन रोकथाम मात्र हो । स्वास्थ्यप्रति सचेत बनौं, मिर्गौला जोगाऔं ।’