माओवादीले फिर्ता लियो गण्डकी सरकारलाई दिएको समर्थन



काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । माओवादी केन्द्र गण्डकी संसदीय दलको बुधबार बसेको बैठकले कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

त्यहाँ कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् । केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएसँगै गण्डकीका मुख्यमन्त्री पाण्डेले मंगलबार माओवादी केन्द्रका भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जाली र सामाजिक विकासमन्त्री सुशीला सिंखडालाई बर्खास्त गरेका थिए ।


माओवादी संसदीय दलको बैठकमा नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा सहभागी भएका छैनन् । उनी बिरामी भएका कारण आजको बैठकमा सहभागी नभएको माओवादी गण्डकी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए । देवकोटा माओवादीको चुनाव चिन्ह लिएर जितेका थिए ।