मस्को आक्रमणमा संलग्न भएको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर



बीबीसी । रुसको राजधानी मस्कोस्थित एउटा कन्सर्ट हलमा आक्रमण गरी कम्तीमा १३७ जनाको ज्यान लिएको आरोपमा चार जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अभियोग लागेकामध्ये तीन जनालाई आँखामा पट्टी बाँधेर एउटा अदालतमा उपस्थिति गराइएको थियो भने चौथो व्यक्ति ह्वील्चेअरमा थिए।

उनीहरु सबैमाथि आतङ्कवादी गतिविधि गरेको अभियोग लगाइएको छ । इस्लामिक स्टेट समूह अर्थात् आईएसले गत शुक्रवार क्रोकस सिटी हलमा भएको आक्रमणको जिम्मेवारी लिँदै भिडियो पोस्ट गरेको छ ।


रुसी अधिकारीहरूले कुनै प्रमाण नदिई मस्कोमा भएको उक्त आक्रमणमा युक्रेन संलग्न भएको आरोप लगाएका छन्। युक्रेनले त्यसलाई निरर्थक भनेको छ । रुसले दलेर्जोन मिर्जोएभ, साइदाक्रमी मुरोदाली राचाबालिजोदा, शम्सिदिन फारिदुनी र मुहम्मदसोबिर फायोज नाम गरेका चार जनालाई आतङ्कवादी गतिविधिमा संलग्न भएको अभियोग लगाएको हो ।

भिडियोमा चार जनामध्ये तीन जनालाई आँखामा पट्टी बाँधेर मास्क लगाएका प्रहरीहरूले अदालत लिएर गएको देखिन्छ। ती सबैको शरीरमा चोटपटक लागेको देखिन्छ ।

मिर्जोएभ र राचाबालिजोदाको आँखा सुन्निएको र वरिपरि कालो डाम भएको अनि कानमा पट्टी बाँधिएको देखिन्थ्यो। उनीहरूलाई पक्राउ गर्दा यातना दिइएको विवरण बाहिर आएका छ ।

अदालतका अनुसार अभियोगबारे सुनुवाइ हुनुपूर्व चारै जनालाई कम्तीमा मे २२ सम्म हिरासतमा राखिने छ । मस्कोको बाहिरी क्षेत्रमा रहेको क्रोकस सिटी हलमा आयोजित रक कन्सर्टमा झन्डै ६ सय मानिस भेला भएको थिए। त्यहाँ भएको आक्रमणको केही घण्टाभित्रै ती चार जनालाई पक्राउ गरिएको थियो । आक्रमणका क्रममा त्यहाँ आगो लागेको थियो र हलको छत पनि खसेको थियो ।