बेलौरीमा फोहर पानी प्रशोधनसहितको ढल निर्माण हुँदै



कञ्चनपुर । बेलौरी नगरपालिकामा फोहर पानी प्रशोधनसहितको ढल निर्माण अगाडि बढाइएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको १८ करोडको लागतमा बेलौरी बजार क्षेत्रमा प्रशोधनसहितको ढल निर्माण सुरु गरिएको हो ।

बेलौरी बजारको नौ किलोमिटर क्षेत्रमा ढल निर्माण भइरहेको नगर प्रमुख पोतिलाल चौधरीले बताए । “ढल निर्माणका लागि ड्रेन निर्माण भइरहेको छ, ढल निर्माणपछि त्यसमा पाइप राख्छौँ”, उनले भने, “ढलको पानी पाइपमार्फत प्रशोधन केन्द्रसम्म पुर्‍याउछौँ ।” बजार क्षेत्रको प्रदूषित पानी मेसिनको सहायताले प्रशोधन गरिने उनले बताए ।


प्रशोधन केन्द्र निर्माणका लागि एककठ्ठा जग्गा व्यवस्थापन गरिएको उनले बताए । ढल निर्माणसँगै प्रशोधन केन्द्रमा मेसिन राख्ने काम भइरहेको उनको भनाइ छ । “ढलमै पाइप राखिने भएकाले पानी सिधैँ प्रशोधन केन्द्रमा पुग्छ”, उनले भने ।