बजारको सौन्दर्यकरण गर्न भित्तामा स्थानीय कला



कञ्चनपुर । भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्र सौन्दर्यकरणका लागि भित्तामा स्थानीय कला र संस्कृति उतार्न सुरु गरेको छ । नेपाल कमर्सियल आर्टिष्ट सङ्घ कञ्चनपुरको सहकार्यमा भित्तामा कला र संस्कृति उतार्ने काम अघि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले बताए ।

भित्तामा सुदूरपश्चिम क्षेत्रको मौलिक कला, संस्कृति, रहनसहन झल्किने चित्रसँगै महत्वपूर्ण पर्यटकीय क्षेत्रका तस्बिर उतार्ने काम भइरहेको उनले जानकारी दिए । “सङ्घबाट चित्र बनाउन खटिएका चित्रकारलाई नगरपालिकाका तर्फबाट पेन्टसहितका सामग्री उपलब्ध गराएका छौँ”, उनले भने ।


उनका अनुसार यस कार्यले नगर क्षेत्रको सौन्दर्यकरणमा टेवा पुगने विश्वास लिइएको छ । “यसबाट युवा पिँढीसँगै बाह्य क्षेत्रबाट आउने पर्यटकले सुदूरपश्चिम क्षेत्रको कला, संस्कृतिबारे जानकारी लिने मौका पाउँछन्”, उनले भने, “ भित्तामा उतारिएका पर्यटकीय गन्तव्यका चित्र हेरेर पर्यटकले जानकारी लिन सक्नेछन् ।” कलाकारहरुले राना, थारु, चौधरी, डगौरालगायतका समुदाय, सुदूरपश्चिम क्षेत्रका पहाडी समुदायका विभिन्न कला संस्कृति झल्कने चित्र भित्तामा उतार्ने उनको भनाइ छ ।

उनहाँका अनुसार पर्यटकीय गन्तव्यहरु महाकाली नदीमाथिको मल्टिस्पान झोलुङ्गे पुल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका बाह्रसिङ्गा, झिलमिला ताल, साकेत धाम, प्राचीन सिद्धनाथ मन्दिरलगायतका चित्र कोरिनेछ । “नगरपालिकाको वडा नं ४ स्थित सहिद दशरथचन्द चोकदेखि जिल्ला प्रशासनसम्मका भित्तामा पहिलो चरणमा चित्र उतारिने छ”, अधिकृत बमले भने ।

नगरको सौन्दर्य बढाउनकै लागि पुरानो जिल्ला प्रशासन कार्यालय अगाडिका खोका छाप्रा हटाइएको छ । नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले भित्तामा चित्र कोर्ने कार्यले नगरको सौन्दर्यता बढाउन मद्दत पु¥याउने बताए । चित्रबाट सुदूरपश्चिम क्षेत्रको लोप हुन लागेको हुडकेली नृत्यकले लगाउने पहिरन, बजाउने बाद्यबाधन, छलिया नृत्यसँगै थारु समुदायको पहिरन, गहना लगायतका विविध पक्षबारे जानकारी लिन सकिने छ ।