प्रदेश सरकारलाई निरन्तरता दिन कांग्रेसमा छलफल



काठमाडौं । नेपाली कांग्रेसले प्रदेशहरूमा पार्टीको नेतृत्वमा रहेका सरकारलाई निरन्तरता दिनेबारे छलफल गरेको छ ।सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा मंगलबार प्रदेशका सभापतिहरू र संसदीय दल नेताहरूसहित बैठक बसेर कांग्रेसले सरकारलाई निरन्तरता दिनेबारे छलफल गरेको हो ।

पदाधिकारी तथा पूर्वपदाधिकारीहरूले प्रदेश सभापति र मुख्यमन्त्रीहरूसहित छलफल गरेका हुन् । छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेता अर्जुननरसिंह केसीले प्रदेशहरूमा थप दलको सहयोग जुटाएर पार्टी नेतृत्वमा रहेका सरकारलाई निरन्तरता दिनेबारे कुराकानी भएको बताए ।


कांग्रेस नेतृत्वमा अहिले सदूरपश्चिम, लुम्बिनी, गण्डकी र कोशी सरकार छ । सत्ता गठबन्धनमा नरहेका दलहरूसँग संवाद गरेर प्रदेश सरकारहरूलाई निरन्तरता दिनेबारे कांग्रेसले छलफल गरेको हो । सहमहामन्त्री जीवन परियारका अनुसार छलफलमा सातै प्रदेशका पार्टी सभापतिहरू र संसदीय दल नेताहरूले प्रदेशका अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

‘प्रदेशहरूमा जुन–जुन दलसँग छलफल गरेर सरकारलाई निरन्तरता दिन सकिन्छ त्यसमा अगाडि बढ्ने सहमति भएको छ,’ उनले भने, ‘यसमा केन्द्रले पनि सहयोग गर्नेछ । सरकार बनाउन नसक्ने खण्डमा सशक्त प्रतिपक्षको भूमिकामा रहने कुरा पनि भएको छ ।’

बूढानिलकण्ठमा भएको छलफलमा सहभागी कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले दलहरू अहिले मध्यावधि गर्ने पक्षमा नदेखिएकोले प्रदेश सरकारलाई निरन्तरता दिनेबारे कुराकानी गरिएको बताए ।