प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा शिक्षामन्त्री सुमना श्रेष्ठले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पेस गर्ने र आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ ।

हिजोको बैठकका लागि यी दुई विषय कार्यसूचीमा राखिए पनि सांसद मन्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै कार्यसूचीमा प्रवेश नगरी आजसम्मका लागि बैठक स्थगित भएको थियो । तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण आजको बैठक पनि नियमित कार्यसूचीमा प्रवेश गर्ने सम्भावना कम छ ।


कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री बनाएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग गर्दै केही दिनयता निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ । तर, आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल भने नरोक्ने कांग्रेसको भनाइ छ ।