काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागू हुनेगरी निगमल पेट्रोलमा प्रतिलिटर चार रूपैयाँ मूल्य बढाएको हो ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मूल्य बढाएको हो । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर चार रूपैयाँ ७६ पैसा बढाएर पठाएको छ। डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मूल्य भने घटाएर पठाएको छ।
डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रूपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ । तर निगमलाई ग्यासमा अझै पनि २९६ रूपैयाँ १५ पैसा घाटा भएकाले ग्यासको भाउ यथावत राखिएको जनाएको छ। डिजेल र मट्टीतेलको मूल्य पनि यथावत छ ।