‘पर्याप्त तथ्याङ्कको अभावमा विपद् व्यवस्थापन असहज’



भेरीगङ्गा (सुर्खेत) । अपाङ्गता भएका व्यक्तिको एथेष्ट तथ्याङ्क नहुँदा विपद् व्यवस्थापनमा समस्या भएको सरोकारवालाले बताएका छन् । सिवीएम नेपालको सहयोग र प्रदेश सरकारसँगको समन्वयमा राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशले वीरेन्द्रनगरमा गरेको अभिमुखीकरण कार्यक्रमका सहभागीले अपाङ्गता भएका व्यक्तिको पर्याप्त तथ्याङ्क नहुँदा विपद् व्यवस्थापनमा समस्या भएको बताए ।

अभिमुखीकरण कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले पर्याप्त तथ्याङ्कबिना विपद् व्यवस्थापनको काम गर्न असहज भएको बताए । कुन–कुन प्रकृतिका अपाङ्गता भएका व्यक्ति छन् भनेर पालिकाले तथ्याङ्क राख्नुपर्ने भन्दै उनले अनि मात्रै विपद् व्यवस्थापन गर्दा सहज हुने बताए । भवन निर्माणका लागि नक्सापास गर्दा अपाङ्गमैत्री बनाएर दिनुपर्ने उनको सुझाव थियो ।


राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले विपद् व्यवस्थापनको कार्य गर्दा अपाङ्गता भएका व्यक्तिको लेखाजोखा आवश्यक रहेको बताए । उनीहरूलाई तालिमसमेत आवश्यक भएको उनको भनाइ थियो । भूकम्पबाट प्रभावित अपाङ्गता भएका व्यक्तिको राहतमा पहुँच पुग्न नसकेको अध्यक्ष शर्मा बताउँछन् । “भूकम्पबाट अपाङ्गता भएका कति व्यक्ति प्रभावित भए भन्ने एथेष्ट तथ्याङ्क छैन”, उनले भने ।

कर्णाली प्रदेश योजना आयोगका सदस्य जितबहादुर शाहले अपाङ्गता भएका व्यक्तिसँग आफ्ना सुझाव दिन आग्रह गरे । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले अपाङ्गता भएका व्यक्तिको हरेक क्षेत्रमा पहुँच पुर्याउने गरी नीति बनाएर त्यसलाई कार्यान्वयन गरिने बताए। भूकम्पपछि पुनःनिर्माण गरिने संरचना अपाङ्गतामैत्री बनाउन पहल गर्ने उनले आश्वासन दिए ।

अभिमुखीकरण कार्यक्रममा अपाङ्ग महासङ्घ कर्णाली प्रदेशका जितलाल ढकालले भूकम्प प्रभावित क्षेत्रमा अपाङ्गता भएका व्यक्तिको पहिचान नभएको तथाम राहतमा अपाङ्गता भएका व्यक्तिको पहुँच पुग्न नकसेको गुनासो गरेका थिए ।