पन्चान्नब्बे रोपनीमा लगाइएको अफिमखेती फँडानी



त्रिवेणी (रुकुमपश्चिम) । रुकुम पश्चिमका विभिन्न ठाउँमा लगाइएको लागूऔषध अफिमखेती फँडानी गरिएको छ । आठबीसकोट र मुसिकोट नगरपालिका तथा सानीभेरी गाउँपालिकाका विभिन्न ठाउँमा ९५ रोपनी जग्गामा लगाइएको अफिमखेती फँडानी तथा नष्ट गरिएको हो ।

आठबीसकोट–१ स्याला र २ को कालजुरा भन्ने ठाउँमा ६० रोपनीमा लगाइएको अफिमखेती फँडानी तथा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए । उनका अनुसार सानीभेरी–३ का तिमिले, कमैदे र काफिगैरामा २९ रोपनी, मुसिकोट–८ घोरखानीमा एक रोपनी र आठबीसकोट–३ दाङ भन्ने स्थानमा पाँच रोपनी गरेर जम्मा ९५ रोपनी जग्गामा लगाइएको अफिमखेती नष्ट गरिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए ।


पाँच दिनको अवधिमा ९५ रोपनी जग्गामा लगाइएको अवैध लागूऔषध अफिमखेती नष्ट गरिएको हो । ग्रामीण बस्ती तथा जङ्गलको बीचमा अफिमखेती बढी लगाउने गरेको पाइएको छ । अवैध मानिएको अफिमखेती लुकीछिपी लगाउने गरिएको छ । सूचना प्राप्त गरेसम्म जिल्लामा हरेक वर्ष अफिमखेती नष्ट गर्दै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।