नाउपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने, अध्यक्ष श्रेष्ठले जारी गरिन् ह्वीप



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा संसदीय दलको नेता रञ्जिता श्रेष्ठले मंगलबार ह्वीप जारी गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देशन दिएकी हुन् । 


अध्यक्ष श्रेष्ठले जारी गरेको ह्वीपमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्विप जारी गरिएको ब्यहोरा अनुरोध छ ।’

आज बिहान बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको हो ।

नाउपा अहिले सरकारमा भने सामेल छैन । पार्टीका निर्वाचित अध्यक्ष रेशम चौधरीलाई निर्वाचन आयोगले अध्यक्ष बन्न अयोग्य घोषणा गरेपछि श्रीमती श्रेष्ठ नै अध्यक्ष कायम बनेकी थिइन् । त्यसपछि दुवै वीच विवाद बाहिर आएको छ । अध्यक्ष श्रेष्ठ नयाँ गठबन्धनको पक्षमा छन् भने रेशम नेपाली कांग्रेससँग नजिक देखिएका छन् ।