दिल्लीको राउज एभेन्यु अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्च २८ सम्मका लागि प्रवर्तन निर्देशनालय (इडी)को हिरासतमा पठाएको छ । दिल्लीको अन्तःशुल्क नीति मुद्दाको आरोपमा मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेपछि जाँच एजेन्सीले पुर्पक्षका लागि १० दिन न्यायिक हिरासतमा राख्न माग गरेको हो ।
अदालतमा शुक्रबार पेश गरिएका मुख्यमन्त्री केजरीवालले आफ्नो अडान जारी राखेका छन् । इडीले अदालतमा मुख्यमन्त्री केजरीवाल व्यापारीहरूबाट घुस माग्ने मुख्य षड्यन्त्रकारी भएको आरोप लगाउनुका साथै अन्तःशुल्क नीति निर्माणमा उनको प्रत्यक्ष संलग्नता रहेको दाबी गरेको थियो ।
इडीका वकिलले आम आदमी पार्टीका मिडिया इन्चार्ज विजय नायरले मुख्यमन्त्री केजरीवालका लागि काम गरिरहेको दाबी गरेका थिए । एजेन्सीले केजरीवालको घर नजिकै बस्ने नायरले आप र दक्षिण समूहबीच बिचौलियाका रूपमा काम गरिरहेको बताएको छ ।अपराधको कमाइ एक सय करोड भारतीय रुपैयाँ मात्र नभई घुस दिनेहरूले गरेको नाफा पनि अपराधको कमाइ भएको इडीका वकिलले थप दावी गरेका थिए ।